विवाहको दिन छाला आकर्षक बनाउने चाहना छ भने प्राकृतिक उपायको मात्र भर नपरी कस्मेटिकको प्रयोगबाट हुने केही आधुनिक शैली पनि अपनाउनुपर्छ । कुनै पनि युवतीको जीवनमा विवाहको दिन विशेष हुन्छ । विवाहका दिन आकर्षणको केन्द्र दुलही नै हुन्छिन् । त्यसैले हरेक युवती सुन्दर एवं आकर्षक देखिन चाहन्छन् । यसका लागि छाला आकर्षक बनाउनुपर्छ । छालामा एकाएक कान्ति ल्याउने कुनै सूत्र छैन तसर्थ समय छँदै स्तरीय कस्मेटिक तथा एसेसरिजहरू प्रयोग गर्नुका साथै बौद्धिक अवस्था, खानपान, छालाको बनावट, खुसी एवं पर्याप्त निद्रा आदि कुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ । यसका लागि राम्रो खाना र तनावरहित जीवन पनि महत्वपूर्ण हुन्छ ।
आकर्षक अनुहारका लागि चन्दनको लेप
चन्दनको प्रयोगले छाला कसिलो हुन्छ । छाला जति कसिलो रहन्छ त्यति नै अनुहारमा खुल्ला छिद्रको कमी हुन्छ । यसको प्रयोगबाट छालाका दाग–धब्बा हट्नुका साथै अनुहारको कोमलता कायम रहन्छ । नियमित चन्दनको लेप प्रयोग गर्दा अनुहारमा दाना आउने, अनुहार तैलीय हुने वा फुस्रो देखिने समस्या पनि हट्छ ।
कागती र मह
अनुहारलाई चम्किलो बनाउन कागती र महको घोल पनि प्रयोग गर्न सकिन्छ । कागती र महको घोल नियमित रूपमा अनुहारमा लगाएर १५ मिनेटपछि चिसो पानीले पखाल्नुपर्छ ।
अनुहारको सफाइ
चिनी र सुन्तलाको घोल अनुहार र हातको छालामा लगाउनु पनि उपयोगी हुन्छ । यो घोल हातैले पनि शरीरमा दल्न सकिन्छ । यसबाट छालाको मृतकोशिका हट्नुका साथै हराएको कान्ति फर्कन थाल्छ ।
छाला चम्काउने आधुनिक उपाय
आधुनिक विज्ञानको यो युगमा छोटो अवधिमै आफ्नो छालामा कान्ति ल्याउन सकिन्छ । यसका लागि विशेष रूपमा सौन्दर्य उपचार गर्नर्ुपर्छ । राम्रोसँग छालाको मृतकोशिका हटाई लुक्सलाई ताजगीपूर्ण एवं आकर्षक बनाउन सकिन्छ । लेजर टोनिङले समेत छालाको बनावट र चमकमा सुधार ल्याउन सक्छ । जुवेडर्म जस्तो फिलर्सलाई आँखाको तल्लो भागको खाल्डो भर्न प्रयोग गर्न सकिन्छ । यो नयाँ पद्धतिको प्रयोगबाट तरोताजा र प्रसन्न अनुहारको धनी बन्न सकिन्छ । आधुनिक दुलहीले बोटोक्सदेखि डी टोनिङ तथा लिपोसक्सन आदि आधुनिक सौन्दर्य चिकित्सा पद्धति उपयोगमा ल्याउन सक्छन् ।
लिप ओग्मेटेसन
ह्यालुरोनिक एसिडमा आधारित फिलर्सको इन्जेक्सन लगाउँदा राम्रो परिणाम प्राप्त हुन सक्छ । यो प्रविधिलाई छालामा नयाँ चमक ल्याउन प्रयोग गरिन्छ । यो इन्जेक्सन प्रयोग गरेर आफ्नो गाला तथा ओठको मांसपेशीलाई राम्रो बनाउन सकिन्छ । यसले चाँडै छालामा परिवर्तन ल्याइदिन्छ । यसले ओठ फुट्ने समस्या पनि निराकरण गर्छ । जुवेडर्म जस्तो फिलर्सले कुनै व्यक्तिको रूप–रंगमा कायापलट गरिदिनसक्छ । यसको इन्जेक्सनले ओठलाई निकै सुन्दर आकार दिनुका साथै मांसपेशीलाई समेत रसिलो बनाइदिन्छ । यो पद्धतिको असर केही महिनासम्म कायम रहन्छ । यसका अतिरिक्त यो पद्धतिले अनुहार वरिपरिको मुजा परेको क्षेत्रलाई सम्म बनाइदिन्छ र चाँडै बूढो देखिने समस्या पनि निराकरण गर्छ । यसको प्रयोगले छालालाई बढी मुलायम र चम्किलो बनाउँछ ।
रौं र चाउरी हटाउने
हिजोआजका युवतीहरूले धेरै समय पढ्न, संघर्ष गर्न र करियर बनाउनमै खर्च गर्छन् । त्यसैले पनि युवतीहरू ३० वर्षको आसपासमा मात्र विवाह गर्ने प्रयास गर्छन् । यो उमेरमा उनीहरू २० वर्षकी जस्ती राम्री, जवान र आकर्षक नदेखिन सक्छन्, तर यसको पनि उपाय हुन्छ । बोटोक्सको प्रयोगले ३० वर्षमा समेत २० वर्षकी जस्ती देखाउन सकिन्छ । यो इन्जेक्सन आइब्रोजको बीचको रेखा र अनावश्यक रौं हटाउन उपयोगी हुन्छ । यसको प्रयोगले अनुहार आकर्षक देखिन्छ ।
डायमण्ड पोलिसिङ
यसमा एउटा इलेक्ट्रोनिक्स डिवाइसको चुच्चोमा डायमण्ड लगाएर छालामा दल्दै पोलिस गरिन्छ । मृतकोशिका र दाग–धब्बा हटाउन यो प्रविधि निकै उपयोगी साबित भएको छ । डायमण्ड पोलिसिङले अनुहारको चमक बढाउनुका साथै गोरोपन र अनुहारमा निखार पनि ल्याउँछ ।
लेजर हेयर रिडक्सन
लगातार बेक्सिङ, सेबिङ एवं ब्लिचिङबाट छाला नराम्रोसँग प्रभावित हुनसक्छ । विवाहपछि पनि यस्तो प्रविधिबिना बस्न सकिँदैन । कतिपय युवती त विवाहअघि नै यस्ता उपकरणका अतिरिक्त लेजर हेयर रिडक्सन लिन्छन् र शरीरका विभिन्न रौंलाई स्थायी रूपमा बिदा गरिदिन्छन् । दुलहीले हात–खुट्टा, काखीमुनि, विकिनी, नाभि तथा पछाडिको भागका रौं हटाउन लेजर ट्रिटमेन्ट गराउनुपर्छ । युवतीले मात्र होइन हिजोआज पुरुषहरूले पनि आफ्नो अनुहार तथा शरीरका अतिरिक्त रौं तथा दाह्रीको सफाइका लागि लेजर ट्रिटमेन्ट गराउन थालेका छन् ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top