
दाङ-हुलका हुल मान्छे बिनारोकतोक सुशील कोइरालाको निवास प्रवेश गरेको अन्य नेता सहज मान्दैनथे । उनीहरू सुझाव दिन्थे, 'सुशील दा, सचिवालयलाई व्यवस्थित बनाउनुपर्यो।' कोइराला आफू निकटस्थको सुझाव मान्न कहिल्यै इच्छुक भएनन् । उल्टै जाइलाग्थे, 'म र जनताको बीचमा बार लगाउन खोज्ने ? जनतालाई टाढा बनाउन खोज्ने ?' निकटस्थ नेता गोपनीयता भंग हुने डर हालिदिन्थे । तर, उनी खुला विचार राख्थे । भन्थे, 'पार्टी र प्रजातन्त्रको कुरा गोप्य हुँदैन, यो कुरा बाहिर जान्छ भने कांग्रेस र प्रजातन्त्रको अझ प्रचार हुन्छ ।' झन्डै दुई वर्षसम्म कोइरालानिकट रहेर काम गरेका नेपाल पत्रकार महासंघका पूर्वउपसभापति विपुल पोख्रेल सम्झन्छन्, 'उहाँ सधैं जनतासँगको निकटता चाहनुहुन्थ्यो ।' यही अडान र सहजताकै कारण कोइरालालाई भेट्न आउने नेता–कार्यकर्ताको संख्या दैनिक साढे ४ सयसम्म पुगेको पोख्रेल बताउँछन् । 'उहाँलाई भेट्न कतै रोकतोक हुँदैनथ्यो,' दाङका पोख्रेल भन्छन्, 'एक दिनमा साढे ४ सय कार्यकर्तासम्मले भेट गरेका छन्, यस्ता नेता अरू सायदै होलान् कोइराला आफूलाई भेट्न आउने परिचित वा अपरिचित, हरेकलाई समान व्यवहार गर्थे । नम्रतापूर्वक प्रस्तुत हुन्थे । पोख्रेलका अनुसार कोइराला जिल्लाबाहिरबाट काठमाडौं, महाराजगन्जस्थित निवास पुग्ने हरेकलाई सबैभन्दा पहिला सोध्थे, 'कहाँ बस्नु भा'छ ?' होटलमा बसेको भन्ने उत्तर पाए असन्तुष्टि दर्साउँथे । 'किन होटलमा बसेर खर्च बढाउनुभएको ?,' पोख्रलले कोइरालाको भनाइ उद्धृत गरे, 'कोही आफन्ती वा साथीभाइको घर बस्नुस्, फजुल खर्च नगर्नुस् ।' कोइराला नेता–कार्यकर्तालाई यति महŒव दिन्थे कि उनीहरूलाई पर्खाएर खाना खानकै लागि भान्सा पस्दैनथे । पोख्रेल सम्झन्छन्, 'खाना यहीँ ल्याऊ भनेर कार्यकर्तासँग गफ गर्दै खाएको मैले धेरैपटक देखेँ ।' कोइराला फजुल खर्च रुचाउँदैनथे । चाहन्थे, कांग्रेसी एक जनाले पनि फजुल खर्च नगरोस् । उनको अर्को चाहना थियो– हरेक कांग्रेसी चरित्रवान् बनोस् । पार्टीकाम वा अन्य सिलसिलामा बढी रकम खर्च भएको थाहा पाए त्यसको खोजीनिती गरिहाल्थे । पोख्रेल २०६९ वैशाखको एउटा प्रसंग सम्झन्छन्, 'त्यस बिहान म पुग्दा उहाँ कार्यकक्षमा सोचमग्न हुनुुहुन्थ्यो । कुरा सुरु गर्न नपाउँदै उहाँले फजुल खर्चबारे असन्तुष्टि पोख्नुभयो ।' पोख्रेलका अनुसार कोइरालाले अघिल्लो साँझ कार्यकर्ताले खाएको खाजानास्ताको बिल १० हजार रुपैयाँ पुगेको सुनेका रहेछन् । 'हाम्रा साथीले के खान्छन् त्यसरी ? नास्ताको बिल पनि १० हजार आउन थाल्यो,' पोख्रेलले कोइरालाको भनाइ सम्झिए, 'कांग्रेसीले यति धेरै फजुल खर्च गर्नु ठिक होइन नि ।' पोख्रेलको बुझाइमा कोइराला आर्थिक पारदर्शिताका नमुना हुन् । त्यसो त विश्वमै गरिब प्रधानमन्त्रीसमेत भनेर कोइराला कहलिएका थिए । उनी आर्थिक कमजोरीबाटै पार्टी र नेता बिग्रने चिन्तामा रहन्थे । कार्यकर्तालाई सुझाव दिन्थे, 'पहिला घरको आर्थिक अवस्था बलियो बनाउनुस् अनि मात्रै राजनीति गर्नुस् ।' आर्थिक रूपमा सबल नभएकाहरू भ्रष्ट हुने खतरा रहने उनको बुझाइ थियो । 'राजनीतिका लागि आर्थिक रूपमा व्यवस्थित हुनु र आय आर्जनको सुनिश्चितता मुख्य रहेको सुशील दाले सधैं भन्दै आउनुभएको होे,' पोख्रेलले भने, 'आर्थिक रूपमा सबल नभएको व्यक्तिबाट राजनीतिक हैसियतको दुरुपयोग हुन्छ भनी चिन्ता पोख्नुहुन्थ्यो ।' कोइराला राजधानीको होहल्ला मन पराउँदैनथे । आफूलाई भेट्न जानेलाई मात्रै होइन, उनी गाउँमै झरेर हरेक कांग्रेसीसँग भेट गर्ने इच्छा सुनाइरहन्थे । जिल्लाबाट भेट्न जाने नेतालाई उनी आग्रह गर्थे, 'जिल्लातिर कार्यक्रम गर्नुस् न यार, काठमाडौंमा दिक्क लागिसक्यो ।' कोइराला मनमा लागेको कुरा निर्धक्कै बोल्थे । नजानेका कुराबारे जानकारी लिन सानो वा ठूलो भनेर कसैलाई भेदभाव गरेनन् । उनी बालबालिकासँग अत्यन्तै रमाउँथे । उनीहरूलाई काखमा राखेर गफ गर्थे । यसअलावा कोइराला फोटोका औधी सोखिन थिए । कसैले फोटो खिच्न प्रस्ताव गरे कहिल्यै नाइँनास्ती गर्दैनथे । पोख्रेल सम्झन्छन्, 'सिद्धान्त र व्यवहारबीच तादात्म्य मिलाएर हिँड्न सक्ने नेता अब हामीबीच रहनुभएन ।'
0 comments Blogger 0 Facebook
Post a Comment