
ताप्लेजुङ–हिउँद याममा बर्षेनी झुसिलकिराको प्रकोप खेप्दै आएका ताप्लेजुङको कालिखोला, सादेवा र पाँचथरको फलैंचाका बासिन्दाले यो वर्षपनि त्यो पीडाबाट मुक्ती पाएनन्। जँगली बोट खानुको पीडा त छदैँछ,भुवा जस्तो उड्ने उसको रौंले आँखामा संक्रमण भए अन्धोपनसमेत हुन सक्ने भयले यो क्षेत्रका बासिन्दा त्रसित देखिएका छन्। कालिखोला–४ का शुक्रराज बेघाका अनुसार यस्तो प्रकारको झुसिलकिराको रौं मान्छेको जिउमा पर्न गए पनि चिलाउने तथा डावर आउने गर्दछ । 'यसको रौं उडेको र बिजेको देखिन्न,तर जिउमा पर्न गएछ भने चिलाएर के गरौं र कसो गरौं जस्तो हुन्छ', बेघाले भने। उनका अनुसार मान्छे तथा गाईबस्तुको आँखामा यसका रौंको मात्र बढी भए अन्धोपन हुन सक्ने भय विद्यमान रहेको छ । 'थोरै संक्रमण भयो भने पनि आँखा चिलाउने, पाक्ने तथा रातो हुने गर्छ', उनले भने। प्रायस उत्तिसका बोटलाई आक्रमणको पहिलो निसाना बनाएका यस्ता झुसिलकिरा साङलो बाँधे झै गरी बाधिएर बस्ने र एकैसाथ आक्रमण गर्ने लक्षण रहेको समेत बेघाले जानकारी दिए । उनको अनुभव अनुसार घामको झुल्कोसँगै यो प्रजातिका झुसिलकिरा उत्तिसका बोटबाट लहरै बोट मुनि झर्ने गर्दछन्। जव साँझ पर्दछ, उनीहरु फेरि उत्तिसका बोटमै उक्लने गर्दछन्। रातभर उत्तिसका पात खाएर बिहान रुख मुनि झरेर उग्राउने स्वभाव रहेको बेघाले जानकारी दिए। उत्तिस पछाडि यो प्रजातिको झुसिलकिराको सबैभन्दा मनपर्ने रुख कटुस हो। कटुस र उत्तिसका पात खाएर बाच्ने यो प्रजातिको झुसिलकिराको प्रकोपले मान्छे मात्र हैन,बस्तु भाउ तथा जंगली जन्तु समेतमा प्रभाव परेको कालिखोलाकै श्रीप्रसाद चौहानले बताए। उनका अनुसार भदौ महिनादेखि देखिने यो झुसिलकिरा चैत महिनासम्म देखिइ रहने गर्दछ। कातिक देखि माघ सम्ममा भने यो झुसिलकिराले खाएर जंगलका उत्तिस र कटुसका रुख पात विहीन भए झैं देखिने गरेको चौहानको भनाइ छ। भिन्न प्रजातिका झुसिलकिराले सताईएका यो क्षेत्रका बासिन्दा पछिल्लो चरण उत्तिस र कटुसका पात खाने प्रजातिको झुसिलकिराबाट निकै पीडामा परेका छन्। चारवर्ष अघि घाँसमा फैलिएको झुसिलकिरालाई घाँससँगै खाएर कालिखोला क्षेत्रका चार दर्जन बढी भेडा मरेका थिए। 'झुसिलकिराको प्रकोप त महामारी जस्तै भयो हाम्रो गाउमा', यसको प्रकोपबारे जानकारी दिँदै पूर्व शिक्षकसमेत रहेका बिजय चापागार्इंले जानकारी दिए। स्थानीय रुपमा 'बहुदले किरा' भनिने चिनिने यो झुसिलकिराको प्रकोप अध्यधिक मात्रामा फैलिएको भने लामो समय भएको छैन । २०४५–२०४६ सालतिर यो क्षेत्रमा झुसिलकिरा देखिन थालेको हुनाले यसलाई बहुदले किरा भनिएको स्थानीयहरु बताउँछन् । पञ्चायती व्यवस्था अन्त्य हुने मौका देशमा आन्दोलन उत्कर्षमा पुगेका बेला देखि नै यो झुसिलकिरा देखिएकोले यसलाई बहुदले किरा भनिएको हो। अलैंची रोपिएको अधिकतर ठांउमा उत्तिसका बोटनै रहने र बहुदले किरा भनिने झुसिलकिराको मुख्य रोजाई पनि उत्तिसनै भएकोले उत्तिस संगै अलैंची समेतमा यसको प्रकोप बढ्ने भय पनि त्यहाँका किसानहरुलाई रहेको छ ।
0 comments Blogger 0 Facebook
Post a Comment