अवरुद्ध ६ ओटा जलविद्युत् आयोजनाका काम पुनः सुचारु
लमजुङ, माघ २३ । तराई आन्दोलन र भारतको अघोषित नाकाबन्दीले इन्धन अभाव हुँदा निर्माण अवरुद्ध भएका लमजुङका जलविद्युत् आयोजनाहरुको काम पुनः सुचारु भएका छन् । निर्माणाधीन ६ ओटा जलविद्युत् आयोजनाले इन्धन र निर्माण सामाग्री पाउन थालेपछि निर्माण कार्य सुचारु गरेका हुन् । जिल्लामा निर्माणाधीन ६ ओटा जलविद्युत् आयोजनाले आगामी ५ वर्षभित्रमा १ सय ५७ मेगावाट विद्युत् उत्पादन गर्नेछन् । लमजुङमा निर्माणधीन ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ र दोर्दी करिडोस्थित २ मेगावाटको छ्याङ्दी साना जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेका छन् । माथिल्लो मर्स्याङ्दी ‘ए’ले कुनै अवरोध नभए आगामी सेप्टेम्बर अन्तिम सातासम्म काम सक्ने लक्ष्य लिएको छ भने छ्याङ्दीले आगामी २ साताभित्रै परीक्षण प्रशारण गर्ने तयारी थालेको छ । नाकाबन्दी र तराई आन्दोलनका कारण इन्धन र निर्माण सामाग्री अभाव हुँदा ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’, २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी–ए, २ मेगावाटको छ्याङदी खोला, ३ मेगावाटको मिदिमखोला (करापु) र ४९.६ मेगावाटको सुपरदोर्दी ‘ख’ आयोजना केहि समय प्रभावित भएका थिए ।

0 comments Blogger 0 Facebook
Post a Comment