माघ २८, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणमा ५ कुरामा सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् । एमाले निकट अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा बिहीबार उदघाटन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय हितविरुद्ध कुनै निर्णय नलिने उल्लेख गरे । 'सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र नेपालको स्वाभिमनालाई झुक्न दिन्न,' उनले भने, 'नेपालको हितमा वर्तमान सरकार अडिग छ ।' भारत भ्रमणमा १९५० को सन्धिसहित असमान सन्धि परिमार्जन गर्न युवा विद्यार्थीले ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले नेपालीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्रीले आफूले गरेका महत्त्वाकांक्षी घोषणालाई उडाइए पनि पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याए । उनले केही दिनमै काठमाडौंसहित देशभर सजिलै पेट्रोल, ग्यास र डिजेल वितरण हुने दाबी गरे । ओलीले पहिलो मन्त्रिपरिषदले घोषणा गरेको तुइन हटाउने निर्णय समयअगावै पूरा हुने जानकारी दिए । 'दुई वर्षभित्र तुइन हटाउने घोषणा भएको थियो, आगामी असारभित्र योजना बन्नेछन्,' उनले भने, 'अर्को असारभित्र १९६ वटा तुइन हटाइनेछ । २०७४ साल साउन १ गते मुलुकमा तुइन पाउनुभयो भने फोटो खिचेर सिंहदरवार ल्याए हुन्छ ।' प्रधानमन्त्रीले दुई वर्षभित्र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाइने घोषणा गरे । मधेसवादी दलहरु आवेशमा आएर अगाडि बढ्दा मुलुकलाई आर्थिक क्षति भएको बताउँदै प्रधानमन्त्रीले नाकाबन्दी हटेपछि विस्तारै जनजीवन सामान्य बनाउन सरकारले काम अगाडि बढाएको बताए ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top