पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो। अन्तिम समयमा भने उनलाई काठमाडौंको मिराकल मेनपावरका एजेन्ट बमबहादुर गुरुङले सित्तैँ विदेश पठाइदिने प्रस्ताव राखे। उनले स्विकारिन। बिनालगानी विदेश पाइने र दुई वर्षमा ११ लाख रुपैयाँ कमाइ हुने प्रलोभनमा पर्दा यतिखेर मनिषाको जिन्दगी अन्योलग्रस्त बनेको छ। परिवारका अनुसार अहिले मनिषा इराकमा अलपत्र छन्। गत असोज १३ गते कुर्दिस्तान जान दिल्ली उडेकी उनी इराकमा अलपत्र परेको भन्दै परिवारले उद्धारका लागि विभिन्न निकाय गुहारेको छ। एजेन्टले मनिषालाई पाँच लाख रुपैयाँमा बेचेको परिवारको भनाइ छ। गत माघ १९ गते धादिङ, नीलकण्ठ–२ का २८ वर्षीय मीनबहादुर गुरुङलाई महिला बेचबिखनको आरोपमा जिल्ला अदालतले थुनामा राख्ने आदेश दियो। धादिङ, स्युरी–२ की २५ वर्षीया रचना गुरुङलाई भारत छिराउन खोज्दा गत पुस २६ गते नौबिसेबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो। मनिषा र रचनाको घटना लगभग उस्तै हो। रोजगारीका नाममा चिनेजानेकै दलालले मनिषालाई भारत हुँदै इराक पुर्यारयो। धादिङकी रचनालाई भारत लैजान खोज्दा प्रहरीले दलालसहित फेला पार्योै। गएको वैशाख १२ गतेपछि गाउँमा आर्थिक संकट परेको भन्दै दलालहरू महिला पछ्याउँदै दुर्गम बस्ती पुगेको पाइएको छ। गाउँमा सोझा र सिधै दलाललाई विश्वास गर्ने महिलामध्ये वैदेशिक रोजगारीको नाममा खाडी मुलुक र भारतका विभिन्न सहरमा पुगेको पाइएको छ। खासगरी आर्थिक रूपले विपन्न, उच्च शिक्षा लिन नसकेका तथा पारिवारिक कलहको झमेलामा फसेका महिलालाई दलालले पछ्याइरहेको वैदेशिक रोजगार विभागका अधिकारीले जानकारी दिए। 'पछिल्लो समय दलाल गतिविधि बढेको छ,' वैदेशिक रोजगार विभाग अन्तर्गत काठमाडौं कार्यालयका प्रमुख मधुविलास पण्डितले भने, 'दलालको बिगबिगी बढेको थाहा पाएपछि वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिएर मात्र जान आग्रह गरेका गर्यैल छौं। तैपनि रोक्न सकिएको छैन।' ग्रामीण भेकमा महिलालाई पछ्याइरहेका दलालले विभिन्न प्रलोभनमा भारत पुर्याआउने र त्यहाँबाट मनलाग्दी तरिकाले विदेश पठाउने संख्या बढेको सरकारी अधिकारी बताउँछन्। 'गलत नियत राखी महिलालाई विदेश पठाउन खोज्नेमध्ये अधिकांशले भारतीय बाटो प्रयोग गर्छन्,' काठमाडौं कार्यालयका एक अधिकृतले भने, 'महिलालाई भारतीय बाटो प्रयोगमा रोक लगाउन सके मात्र धेरैलाई बेचबिखनबाट बचाउन सकिन्थ्यो।' खाडी र मध्यपूर्वका रोजगारदाता कम्पनीले निश्चित रकम दलाललाई सुरुमै उपलब्ध गराउने अनि दलालले वैदेशिक रोजगारीमा जान एक रुपैयाँ पनि लगानी गर्नु पर्दैन भन्दै महिलालाई झुक्याइरहेको पाइएको छ। उक्त कार्यालयका एक कर्मचारीले भने, 'विदश जान रकम लगानी गर्नु पर्दैन भन्ने कुरा जसले पत्याउँछन्, उनीहरू जोखिममा पर्छन्।' एक रुपैयाँ खर्च नगरी वैदेशिक रोजगारीमा गएकामध्ये धेरैजसो बेचबिखनमा पर्ने र अन्यले पनि काम गरेबापतको रकम पाउन नसक्ने भुक्तभोगीको भनाइ छ। पासपोर्ट बनाउनसमेत दलालले सहयोग गरेका कारण साउदी पुगेको बताउने बर्दिया सानोश्रीकी पार्वती (परिवर्तित नाम) ले भनिन्, 'दलालले पहिल्यै रकम ल्याएर खाइसकेको हुँदोरहेछ र पो यहाँ एक पैसा तिर्नु पर्दैन भन्दो रहेछ।' दुई वर्षसम्म साउदीमा काम गर्दा पारिश्रमिक पाउन नसकेको बताउने उनले दलाललाई कारबाही गर्नुपर्यो् भन्दै विभागमा उजुरी दिएकी छन्। विभागको काठमाडौं कार्यालयका अधिकृत ताराबहादुर कुँवर धेरैजसो दलालले झुक्याएर महिलालाई भारत हुँदै खाडी मुलुक पुर्यााउने गरेको बताउँछन्। उनीहरुले विभिन्न देशलाई ट्रान्जिट बनाएर महिलाको ओसारपसार गरिरहेका छन्। उनले भने, 'स्वदेशी विमानस्थल प्रयोग गरेकाले पनि महिलालाई सुरुमा श्रीलंका, बंगलादेश उडाउने र त्यसपछि खाडी र मध्यपूर्वका देशमा पठाउने गरेका छन्।' पछिल्लो समय साउदी, मलेसिया लगायतका रोजगारदाताले महिला कामदारको माग गरिरहेका छन्। नेपाल सरकारले श्रम सम्झौता नभएको भन्दै घरेलु कामदारमा महिला पठाउन अनुमति दिएको छैन। तापनि दलालले पर्यटक भिसा या अन्य नामको भिसामा महिलालाई ती देशमा पुर्यादउने र घरेलु कामदारमा लगाउने गरेको अध्यागमन विभागका कर्मचारीको भनाइ छ। कानुनले दिएको अधिकारमा खेलेर दलालले महिलालाई झुक्याइरहेको धेरैको भनाइ छ। अध्यागमन विभागका कर्मचारीले भने, 'पर्यटक भिसामा जाने महिला जोखिममा पर्न सक्ने सम्भावना धेरै हुन्छ भन्ने जान्दाजान्दै पनि सबै प्रक्रिया पूरा गरेका कारण विदेश जान दिनुपर्ने बाध्यता छ।' विभाग कर्मचारीका अनुसार महिला जोखिममा परेको घटना उनीहरू पीडा थाम्नै नसक्ने अवस्थामा पुगेपछि सार्वजनिक हुन्छ। सामान्य पढाइलेखाइ भएका र राज्य संयन्त्रमा राम्रो पहुँच नभएका त्यस्ता पीडितले दलाललाई कारबाहीका लागि पहलको आँटसम्म गर्न नसक्ने बताइन्छ। संयुक्त अरब इमिरेट्स जान दलाललाई एक लाख रुपैयाँ दिएको बताउने सिन्धुपाल्चोक, स्याउलेकी सविना लामाले उडाउने भनिएको दिनदेखि दलाल बेपत्ता भएको गुनासो गरिन्। साथीको लहलहैमा लागेर दलाललाई रकम बुझाएकी उनले रकम लिने व्यक्तिको पूरा नाम र ठेगानासमेत नभएको बताइन्। 'सिनामंगलको मेनपावर कम्पनी आफ्नो भनेर सडकबाट देखाएको थियो,' उनले भनिन्, 'कुरा राम्रो गरेकाले विश्वास गरियो। अहिले पासपोर्ट र रकम लिएर भाग्यो। पूरा परिचय पनि थाहा छैन।'

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top