
माघ २८, २०७२- बारम्बार भइरहेको लोडसेडिङ हटाउन सम्बन्धित निकायले पहल नगरेको भन्दै पर्वतका सर्वसाधारणहरुले त्यसको बिरुद्धमा राजमार्ग नै अवरुद्ध पारेका छन् । गतवर्षहरुमा प्रभावित क्षेत्रको हैसियतमा लोडसेडिङ नहुने गरेकोमा यो वर्ष अघोशित रुपमा दैनिक १२ घण्टा सम्म लोडसेडिङ भइरहेको भन्दै त्यसको बिरुद्धमा दिउँसो १ बजेदेखि पोखराबाग्लुङ राजमार्ग नै अवरुद्ध पारेका हुन् । राजमार्गछेउमा रहेको नेपाल विद्युत प्राधिकरणको पर्वत बितरण केन्द्रमा ताला लगाउन पुगेका उपभोक्ताहरुलाई प्रहरीले रोकेपछि मोटरसाइकल राजमार्गमा तेस्र्याएर सडकमै नाराबाजी गर्दै करिव डेढ घण्टा सडक अवरुद्ध पारे । मुलुकमा भइरहेको इन्धन समस्या टार्न केन्द्रले गरेको लोडसेडिङ आफूहरुका लागि कुनै हालतमा पनि उपयुक्त नभएको भन्दै उपभोक्ताहरुले लोडसेडिङ गर्नै परे पनि साँझ या बिहान एक समयमा गर्नुपर्ने माग राखेका छन् । 'बिहान र बेलुका मुख्य समयमै बत्ती हुँदैन,' उपभोक्ता जगत भुषालले भने, 'एक समयमा मात्रै गर्न भनेर गरेको सहमतिबिपरित गरेको अन्याय कसरी सहने ?' करिव पाँच सयको सङ्ख्यामा कार्यालय घेर्न पुगेका उपभोक्ताहरुले आफूहरुले भनेबमोजिमको तालिका नभए अझ शसक्त संघर्षका कार्यक्रमक्रमहरु ल्याउने बताएका छन् । विद्युत कार्यालय घेराउ गर्न पुगेका उपभोक्ताहरु कार्यालय प्रमुख कन्हैयालाल दास जिल्लाबाहिर भएको जानकारी पाएपछि प्रशासन पुगेका थिए । प्रशासनमा भएको बार्ताका क्रममा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पछिल्लो समय समस्या जटिल बन्दै गएको भन्दै समाधानका लागि आफूले पहल गर्ने बताए । 'प्रभावित क्षेत्रका लागि यो ठुलो समस्या हो,' उनले भने, 'यो विषयमा मैले माथिल्लो निकायमा समाधानका लागि आजै पहल गर्छु ।' आक्रोशित उपभोक्ताहरुलाई समस्या समाधान गर्ने आश्वासन दिएपछि भिड केहि शान्त भएको थियो । प्रशासनमा पुगेका उपभोक्ताहरुले आफूहरुको माग तत्काल सुनुवाई नभए पर्वतमा उत्पादनमा रहेका दुबै आयोजनाहरुमा समेत ताला लगाउने चेतावनी दिएका छन् । पर्वतमा १४ मेघावाटको मोदीखोला र १० मेघावाटको युनाइटेड मोदीखोला जलविद्युत आयोजना सञ्चालनमा छन् । अहिले पानी कम भएका कारण दुबै आयोजनाबाट ६ दशमलव ४ मेघावाट मात्रै विद्युत उत्पादन हुँदै आइरहेको छ ।
0 comments Blogger 0 Facebook
Post a Comment