माघ २८, २०७२- प्रहरी चौकी झुटकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक(असई) रमेश सुब्बाको हत्यामा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीद्वारा पक्राउ गरिएका मधेसी मोर्चाका एक सक्रिय कार्यकर्तालाई बिहीवार साँझी सप्तरी जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेका छन् । सप्तरीको झुटकी गाविस निवासी एवं मोर्चा कार्यकर्ता अशोक यादवलाई सप्तरी जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेका हो । गत पुस २० गते समसाँझै भारतीय मोटरसाईकलमा आएका अज्ञात हतियारधारी दुई जनाले नर्घो गाविसस्थित कल्भर्टमा असई सुब्बामाथि गोली हानी हत्या गरी फरार भएको थियो । उक्त घटनाको जिम्मेवारी जयकृष्ण गोईत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाले लिएका थिए । तर, सप्तरी प्रहरीले उक्त घटनामा यादव संलग्न रहेको भन्दै गत पुस २९ गते काठमाण्डौबाट राजविराजतर्फ आउने क्रममा यादवलाई महोत्तरीको बर्दीबासबाट पक्राउ गरेका थिए । प्रहरीले पक्राउ गरेका यादवलाई सप्तरी जिल्ला अदालतमा कर्तब्य ज्यान मुद्दा चलाएका हुन् । सोही मुद्दामाथि बिहीवार भएको थुनच्छेक बहसमा न्यायाधीश शारदप्रसाद कोईरालाको एक इजलासले पेश गरिएको सबुत प्रमाणबाट प्रतिवादीको कसुर प्रमाणित हुन नसकेको भन्दै यादवलाई साधारण तारिखमा रिहा गरिएको अदालतका प्रवक्ता एवं श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । मधेसी मोर्चा सप्तरीले आफ्ना सक्रिय कार्यकर्ताहरुलाई पक्राउ गरी विभिन्न झुठा मुद्दा लगाउँदैआएको भन्दै संघर्षका विभिन्न कार्यक्रमहरु पछिल्लो समयमा गर्दैआएको थियो । अदालतको आदेशपछि खुशी भएका मधेसी मोर्चा सप्तरीका नेताहरुले रिहा भएका आफ्ना कार्यकर्ता यादवलाई फुल माला लगाएर स्वागत गरेका थिए । मोर्चा आबद्ध संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले घटनाको वास्तविक दोषीलाई पक्राउ गर्न नसक्ने प्रहरी आफैलाई जोगाउन आन्दोलनकै क्रममा आफ्ना कार्यकर्तालाई पक्राउ गरी विभिन्न मुद्दा लगाउने गरेको आरोप लगाए ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top