माघ २२, २०७२- भारतीय आयाल कर्पोरेसन्स (आइओस) ले ग्यासको लोडिङ पुन: कटौती गरेको छ । निगम स्रोतका अनुसार आईओसीले फ्रेबुअरीबाट कर्नाल रिफाइनेरीमा ग्यासको बुलेट नपठाउन पत्रचारसमेत गरेको छ ।
‘यसअघि मागको ४० देखि ४५ प्रतिशतसम्म लोड दिँदै आएकामा पुन: कटौती गरेर २० देखि ३० प्रतिशतमा झरेको छ,’ निगमका एक अधिकारीले भने, ‘पर्याप्त मात्रामा लोड नदिँदा उपभोक्ताको माग पूर्ति गर्न सकेका छैनौं ।’
उनका अनुसार कर्नालबाट ग्यासको लोड दिइएको छैन । ‘एक तारिखबाट लोडिङका लागि नपठाउनु भनेरै पत्राचार गरिएको छ,’ उनले भने, ‘नयाँ महिना सुरु भएपछि प्राविधिक कारण देखाउँदै लोड दिन नमानेको हो ।’
निगमका अनुसार रिरुट गरेर ग्यास नेपाल भित्रिएकाले उपत्यकाको आपूर्तिमा केही सुधार भएको हो । नाकाबन्दीयता १ सय ४३ बुलेट ग्यास रिरुट गरेर भित्र्याइएको छ । ६२ वटा बुलेट रिरुटको प्रक्रियामा छ । १५ देखि २० बुलेट रक्सौल नाकामा रोकिएको ती अधिकारीले बताए ।
निगमका अनुसार रक्सौल नाका नजिक भएकाले दुई/तीन दिनमै उपत्यका भित्र्याउन सकिन्थ्यो । रिरुट गरेर अन्य नाकाबाट इन्धन भित्र्याउँदा कम्तीमा १० दिन लाग्ने ती अधिकारीको भनाइ छ ।
ग्यास आयात र वितरणको जानकारी दिन गठित कन्ट्रोल रुमले पनि ग्यासको आयात क्रमश: घट्दै गएको जनाएको छ । ‘केही साताअघिको तुलनामा ग्यासको आयात क्रमश: घटै गएको छ,’ कन्ट्रोल रुमका सदस्य तथा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका शाखा अधिकृत विष्णु भट्टराईले भने ।
कन्ट्रोल रुमको तथ्यांकअनुसार माघ १ गते ६७ बुलेट ग्यास, २ गते १२, ३ गते ३८, ४ गते २७, ५ गते ३६, ६ गते १०, ७ गते १५, ८ गते ३९,९ गते १०, १० गते २५ बुलेट भित्रिएको छ ।
यस्तै, ११ गते २६, १२ गते ९, १३ गते १६, १४ गते १९, १५ गते २२, १६ गते ३२, १७ गते २१, १८ गते ४१, १९ गते २२ र २० गते ६ बुलेट भित्रिएको भट्टराईले बताए । भट्टराईका अनुसार रिरुट गरेर भित्र्याइएकाले आयातमा केही सुधार देखिएको हो ।
उपत्यकामा मुख्यत: चारआली, भैरहवा, विराटनगर नाकाबाट ग्यास आउँछ । कन्ट्रोल रुमका अनुसार सबैभन्दा बढी कोसी, नेपाल, सगर, सुगम र एभरेस्टको बुलेट भित्रिएको छ ।
निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले अहिले औसतमा ४० प्रतिशत इन्धन भित्रिएको बताए । उनले कर्नालको सट्टामा मथुरा रिफाइनेरीबाट ग्यास दिएको बताए ।
निगमका अनुसार फ्रेबुअरी महिनामा मथुराबाट ४ ६ सय, बरौनीबाट १३ हजार र हल्दियाबाट १२ हजार टन लोड दिने बताए । निगमका अनुसार मथुरा रिफाइनेरीबाट लोड भएको ग्यास बुलेट मुख्यत: सुदूरपश्चिम जान्छ । ती क्षेत्रमा ४ वटा ग्यास उद्योग छन् ।
भट्टराईका अनुसार जनवरी महिनामा ११ हजार टन मात्रै एलपी ग्यास भित्रिएको छ । यो मागको ३८ प्रतिशत हो । निगमले ग्यासको कोटा मासिक २९ हजार टन तोकेको छ । यस्तै जनवरीमा १० हजार ९ सय किलो लिटर पेट्रोल भित्रिएको छ । मासिक माग ३३ हजार किलोलिटर हो ।
डिजेल ८५ हजार किलोलिटर माग भए पनि ४९ हजार ७ सय किलोलिटर भित्रिएको छ । १३ हजार किलोलिटर माग रहेको हवाई इन्धन २२ सय ६० किलोलिटर भित्रिएको छ ।
प्रकाशित: माघ २२, २०७२

0 comments Blogger 0 Facebook
Post a Comment