
माघ २८, २०७२- उत्पादित कुखुराबाटै माग अनुसारको मासु आपूर्ति भएपछि कास्की कुखुरामा आत्मनिर्भर जिल्ला बनेको छ । बाहिरी जिल्लाबाट केही कुखुरा र मासु आयात भए पनि सोही परिमाणमा निर्यात हुने भएपछि आत्मनिर्भर भएको सरोकारवालाले बताएका छन् । जिल्लामा १ हजार किसानले व्यावसायिक रूपमा कुखुरा पाल्छन् । सिजन तथा फाट्टफुट्ट रूपमा पाल्ने त्यसको दोब्बर रहेको जिल्ला कुखुरापालक किसान संघका अध्यक्ष मुक्तिराम अधिकारी बताउँछन् । ‘जिल्ला भित्रको मासुको माग यहीँ उत्पादित कुखुराले पुग्छ,’ उनले भने, ‘बाहिरी जिल्लाबाट पनि आउँछ । यहाँबाट पनि छिमेकी जिल्लामा पुग्छ ।’ जिल्लाभर करिब ५ लाख गोटा ब्रोइलर र १ लाख ८० हजार गोटा लेयर्स कुखुरा नियमित पाल्ने गरिन्छ । १ लाख ३० हजार चल्ला प्रतिसाता उत्पादन हुने र ७० हजार चल्ला यहीँ बिक्री हुन्छ । अरू बाहिरी जिल्लामा जान्छ । तर, ५० हजार जति चल्ला प्रत्येक साता बाहिरी जिल्लाबाट आयातसमेत हुन्छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार १० हजारदेखि ६० हजारसम्म कुखुरा पाल्ने ठूला फर्म २० वटा छन् । अघिल्लो वर्ष १२ लाख ब्रोइलर र १ लाख १७ हजार लेयर्स कुखुरा कास्कीमा बिक्री भएको थियो । यसैगरी १ लाख ७६ हजार ३ सय ५५ चल्ला चितवन, काठमाडौंलगायत जिल्लाबाट कास्की भित्र्याइएको थियो भने झन्डै डेढ लाख चल्ला निर्यात गरिएको थियो । कास्कीबाट धौलागिरिका जिल्ला, स्याङजा, तनहुँमा निर्यात हुन्छ । झन्डै एक लाख लेयर्स कुखुरा आयात भएकामा २५ हजार निर्यात भएको कार्यालय प्रमुख राकेश प्रजापतिले बताए । ‘कास्की कुखुरामा आत्मनिर्भर भइसकेको छ,’ उनले भने, ‘दिगो बनाइराख्न व्यवसायलाई अझै व्यवस्थित गरेर अघि बढ्न आवश्यक छ ।’ कुखुरा व्यवसायमा अर्बौंको लगानी र २० हजार जतिले रोजगारी पाएको उनले बताए । यसको आधिकारिक तथ्यांक भने कुनै पनि निकायसँग छैन । गत वर्ष २ लाख ब्रोइलर कुखुरा (मासुका लागि) आयात भएकामा १ लाख २० हजार यहाँबाट निर्यात भएको थियो । त्यस्तै करिब ६३ लाख गोटा अन्डा आयात भएको र ९ लाख निर्यात भएको थियो । डेढलाख अन्डा दैनिक आवश्यक पर्नेमा १ लाख कास्कीमै उत्पादन हुन्छ । कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिका अध्यक्ष भोलानाथ ओझाले दैनिक ४० हजार किलो कुखुराको मासु खपत हुने बताए । अहिले जिउँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ५५ रुपैयाँ छ । उत्पादन र मागको आधारमा मूल्य निर्धारण हुने उनले बताए । कुनै बेला १ सय ८० रुपैयाँमा पनि झरेको थियो । ‘जिल्लाभित्र खपत हुने मासुका लागि यहीँकै कुखुराले धान्न थालेको छ,’ उनले भने । अहिले कुखुराको मासु ३ सय ९० देखि ४ सय २० रुपैयाँमा बिक्री हुँदै आएको छ । कास्कीमा करिब ५० वटा कुखुरा सप्लायर्स छन् । कास्कीकै ठूलो मध्येको भट्टराई पोल्ट्री फर्मका सञ्चालक अशेष भट्टराईले जिल्ला कुखुरामा आत्मनिर्भर भएकाले अब चल्ला र दानाको गुणस्तरमा ध्यान दिनुपर्ने बताए । ‘व्यवसाय टिकाइराख्न र किसान लाभान्वित भइरहन अब गुणस्तरमा पनि ध्यान दिनुपर्ने देखिन्छ,’ उनले भने, ‘मासु ऐन कार्यान्वयनमा ल्याई गुणस्तरीय मासु बिक्रीमा जोड दिन आवश्यक छ ।’ अहिले जसले जहाँबाट जसरी भए पनि कुखुरा पाल्ने र मरेका पनि बेच्ने चलनको अन्त्य हुनुपर्ने उनले जोड दिए । पर्वत कृषि फर्म सञ्चालनमा ल्याएका कृष्ण पौडेलले आफैं मासु बेच्छन् । २५ सय कुखुरा पाल्ने उनले २० प्रतिशत बाहिरबाट खरिद गरी मासु बेच्ने बताए । ‘आफैंले उत्पादन गरेको कुखुरा आफैं मासु बेच्दा आम्दानी पनि बढ्छ,’ उनले भने, ‘यसमा मूल्यका लागि कसैसँग बार्गेनिङ गरिरहनु परेन । बिचौलियाको भर पनि पर्नु परेन ।’ कुखुरालाई आवश्यक दाना पनि किसानले आफैं बनाउन थालेका छन् ।
0 comments Blogger 0 Facebook
Post a Comment