फैलिँदैछ आँखा पाक्ने समस्या
वर्षा र बाढीपछि सुरु भएको आँखा पाक्ने समस्या (कन्जंटिभाइटिस) राजधानीलगायत तराईका धेरै जिल्लामा फैलिएको छ। सामान्य सम्पर्कबाटै सर्ने यो रोग पूर्वी तराईमा सीमित रहेकामा दसैं बेलाको बाक्लो आउजाउ र भेटघाटले अन्यत्र पनि फैलिएको हो। राजधानीसहित चितवन, विराटनगर, झापा, रौतहट, बारा, पर्सालगायत जिल्लाका अस्पतालमा आँखा पाक्ने रोगका बिरामी बढ्न थालेका छन्। राम्ररी उपचार नगराई पसलबाट सिधै औषधि किनेर प्रयोग गर्नेको संख्या पनि ठूलो भएको चिकित्सक बताउँछन्। बिपी कोइराला नेत्र उपचार केन्द्रका विशेषज्ञ डा. आनन्दकुमार शर्माले ओपिडीमा आउने आँखाका बिरामीमध्ये झन्डै २० प्रतिशतमा भाइरल कन्जंटिभाइटिस देखिएको बताए। 'बालबालिका र युवा बढी प्रभावित छन्,' डा. शर्माले आइतबार नागरिकसँग भने, 'वर्षा र विभिन्न ठाउँमा आएको बाढीका कारण यो रोगको संक्रमण सुरु भयो, पछि दसैं बेला भेटघाट र आउजाउले व्यापक रूपमा फैलिएको हुनसक्छ।' उनका अनुसार समयमै उपचार नगर्दा र जथाभाबी औषधि प्रयोगले आँखाको नानीमा स्थायी दाग देखापर्ने र ज्योतिसमेत कम हुने समस्या बढेको छ। ओपिडीमा आएकामध्ये झन्डै ८० प्रतिशतले आफैं मनलाग्दी औषधि किनेर उपचार थालिसकेको पाइएकाले त्यसो नगर्न उनले सुझाए। 'धेरै बिरामीले उपचारै नगराई स्टेरोइड हालेको पाइएको छ,' उनले भने, 'अतिरिक्त संक्रमण भएको अवस्थामा स्टेरोइडले आँखामा अल्सर (घाउ) गराउनसक्छ।' यसले नानीको मध्यभागमा घाउ गराएर आँखाको दृष्टि क्षमता कम हुनसक्ने उनले बताए। चिप्राको जाँचबाट भाइरसको प्रकृति पहिचान गरेर मात्र आँखामा एन्टिबायोटिक्स हाल्नुपर्ने डा. शर्माको सुझाव छ। एउटा आँखाबाट अर्कोमा नसरोस् भनी जतापट्टि संक्रमण भएको छ त्यतैपट्टि कोल्टे फर्केर सुत्नुपर्ने उनले बताए। उनका अनुसार प्रत्येक एक/दुई वर्ष अन्तरालमा यो रोग फैलिने गरेको छ। यसपटक भदौ अन्तिम साताबाट देखापरेको हो। सजिलै सर्ने रोगको संक्रमणबाट उपचारमा खटिएका चिकित्सक पनि धेरै प्रभावित भइसकेको उनले बताए। तिलगंगा आँखा प्रतिष्ठानका डा. रोहित सैंजु पनि अस्पतालमा आएकामध्ये झन्डै एकतिहाइमा आँखा पाक्ने समस्या देखिएको बताउँछन्। 'दसैंमा तराईतिर गएर फर्किएकामा समस्या बढी देखिएको छ,' उनले भने। उनका अनुसार भाइरल कन्जंटिभाइटिस बिरामीको सम्पर्कमा आएपछि सबैभन्दा पहिला आँखाको बाहिरी झिल्ली रातो भई सुन्निन्छ। लगातार आ“सु बग्न थाल्छ। आँखामा चिप्रा पर्छ। त्यसपछि परेलीको डिल सुन्निन्छ। यस्तो संक्रमण नानीसम्म पुगे दुख्न थाल्छ। भाइरस र ब्याक्टेरिया दुवै खालको संक्रमणबाट यो समस्या आउँछ। ब्याक्टेरियाको संक्रमण छिटो निको हुन्छ भने भाइरसको संक्रमण कहिलेकाहीँ लामो समय रहन्छ। दुवै खालको संक्रमणमा फरक–फरक एन्टिबायोटिक्स हाल्नुपर्ने डा. सैंजु बताउँछन्। शितल हुने औषधि तथा कालो चस्माको प्रयोगले केही राहत दिन्छ। एक्कासि देखिने यो रोग सजिलै एक व्यक्तिबाट अर्कोमा सर्छ। बालबालिकामा कन्जंटिभाइटिससँगै ज्वरो आउने, सामान्य रुघा लाग्ने र कहिलेकाहीँ कानमुनिको ग्रन्थी सुन्निएर दुख्ने चिकित्सक बताउँछन्। 'आँखामा रहेका नसा कुनै तरिकाले कोतरिए भित्र सुन्निएर कन्जंटिभाइटिसमा परिणत हुनसक्छ,' डा. शर्माले भने, 'यस्तो अवस्थामा घाममा आ“खा खोल्न गाह्रो हुने, आ“खा दुख्नेजस्ता समस्या देखापर्छन्।'
के गर्ने?
साबुन पानीले पटकपटक हात धुने सफापानीले आँखा पखाल्ने आँखा धेरै नमिच्ने जाँच नगरी औषधि नहाल्ने स्टेरोइड नहाल्ने संक्रमित व्यक्तिले प्रयोग गरेका औषधि र अन्य सामान प्रयोग नगर्ने संक्रमणपछि सामूहिक जमघटमा नजाने कालो चस्मा प्रयोग गर्ने

0 comments Blogger 0 Facebook
Post a Comment